
पोखरा। २५औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रण आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरिएको छ।
आइतबार सहारा क्लब पोखराको भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत मूल आयोजक समिति सदस्य–सचिव गंगाराज पौडेलले प्रतियोगिताबारे जानकारी दिएका हुन्।
प्रतियोगिता माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ। यस संस्करणमा उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यसहित आयोजना हुन लागेको हो।
२५औँ संस्करणमा १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टिमहरूमा नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, पन्डरबोन्ड नर्थ युनाइटेड (सिक्किम, भारत), गोर्खा इन्टरनेशनल फुटबल क्लब (हङकङ), आभा फुटबल क्लब (उज्वेकिस्तान), चर्च ब्वाइज युनाइटेड, नेपाल एपीएफ क्लब, जावलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, भारतको एक टिम तथा आयोजक सहारा क्लब पोखरा रहेका छन्।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहने प्रतियोगिता पोखरा महानगरपालिका संरक्षक तथा राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अष्ट्रेलियाको विशेष सहयोगमा सञ्चालन हुनेछ।
प्रतियोगितालाई थप आकर्षक बनाउन तथा पोखरा पर्यटन वर्ष २०२५–२६ को प्रवर्द्धनका लागि अस्थायी फ्लडलाइट जडान गरी सन्ध्याकालीन खेलहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]