Share on:

टि-२० विश्वकप : अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित
February 11th, 2026

काठमाडौं । भारत र श्रीलंकामा जारी ट्वान्टी २० विश्वकपमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि दोस्रो सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ । दक्षिण अफ्रिकाले दोस्रो सुपर ओभरमा दिएको २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १९ रन मात्र बनाउँन सकेपछि दक्षिण अफ्रिका विजयी भएको हो । 


खेलमा भएको पहिलो सुपर ओभरमा दुवै टोलीले समान १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रनको योगफल तयार गरेको थियो । 


दक्षिण अफ्रिकाका लागि क्विटन डि कक र रायन रिकल्टनले अर्धशतकीय इनिङ खेलेका थिए । रिकल्टनले २८ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६१ रन बनाउँदै आउट भए । डि ककले ४१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५९ रन बनाए । दोस्रो विकेटका लागि डि कक र रिकल्टनले १ सय २ रनको साझेदारी गरेका थिए । 


डिवाल्ड ब्रेभिस १९ बलमा २३ तथा मार्को यानसन ७ बलमा १६ रनमा आउट हुँदा डेभिड मिलर १५ बलमा २० रनमा नट आउट रहे । 


१ सय ८८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ८७ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो । अफगानिस्तानलाई अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक थियो । भने, उसको हातमा १ विकेट मात्र रहेको थियो । अफगानिस्तानले १२ रन मात्र जोडे पछि खेलमा बराबरी भएको थियो । 


अफगानिस्तानका लागि ओपनर रहमानुउल्लाह गुर्वाजले ४२ बलमा ४ चौका र ७ छक्काको सहयोगमा ८४ रनको अर्धशतकीय इनिङ खेले । अजमतुल्लाह उमरजाइ १७ बलमा २२, कप्तान रशिद खान १२ बलमा २० तथा दारविस रसोली १५ रनमा आउट भए । 


दक्षिण अफ्रिकाका लागि लुगिं एन्गेडीले ३ तथा मार्को यानसन, कागिसो रबडा, जर्ज लिन्डा र केशब महाराजले समान १ विकेट लिएका थिए । जित पछि दुई खेलमा शतप्रतिशत जितका साथ दक्षिण अफ्रिका चार अंकका साथ समूह डी को दोस्रो स्थानमा रहेको छ । लगातार दुई खेलमा पराजित अफगानिस्तान अंकबिहिन रुपमा तेस्रो स्थानमा छ ।


Swadesh Maharjan | February 11th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya