
काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगअन्तर्गत आफ्नो उत्कृष्ट लय कायम राख्दै नव जनजागृति युवा क्लबमाथि सानदार जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा आर्मीले नव जनजागृतिलाई ३–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो। यो जितसँगै आर्मीले लिगमा आफ्नो पाँचौं सफलता हासिल गरेको छ। आठ खेलबाट १७ अंक जोडेको आर्मी तालिकाको शीर्ष प्रतिस्पर्धामा मजबुत रूपमा उभिएको छ।
खेलको नवौं मिनेटमै जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। सुरुआती अग्रतापछि आत्मविश्वासका साथ खेलेको आर्मीले दोस्रो हाफमा खेलमाथि पूर्ण नियन्त्रण जमायो। ५४औं मिनेटमा नवयुग श्रेष्ठले सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि ७६औं मिनेटमा कुन्साङ लामाले अर्को गोल थप्दै आर्मीको जित सुनिश्चित गरे।
पराजित नव जनजागृतिको भने यो लगातार आठौं हार हो। समान आठ खेल खेलेको नव जनजागृति अंकविहीन रहँदै तालिकाको पुछारमा संघर्षरत छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]