Share on:

अन्तर वडा फुटसलमा वडा २३ र २४ को विजयी सुरुआत
November 8th, 2025

काठमाडौँ, कात्तिक २२ गते । तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता शनिबार सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा कात्तिक २९ गतेसम्म हुने प्रतियोगताको पहिलो दिन आयोजक र वडा नं २४ ले जित हासिल गरे ।


लैनचौर फुटसल मैदानमा भएको उद्घाटन खेलमा आयोजक वडा २३ ले काठमाडौँ महानगरपालिका केन्द्रलाई ६–२ ले पराजित गर्यो । सो खेलमा विजयी टिमका लाग विशाल श्रेष्ठले ह्याट्रिकसहित चार गोल गरे । वडा २३ को तर्फबाट भएका अन्य दुई गोल राजीव चित्रकार र एलेक्स श्रेष्ठको नाममा रह्यो । काठमाडौँ महानगरपालिकाका नवीन भण्डारी र अनुप मगरले गरेको गोल सान्त्वना मात्र बने । सो खेलमा चार गोल गर्ने विशाल म्यान अफ दि म्याच घोषित भए ।


दोस्रो खेलमा वडा नं २४ ले वडा नं ७ लाई ३–१ ले हरायो । वडा २४ का लािग समन श्रेष्ठ, सुभम तुलाधर र सन्देश महर्जनले गोल गरे । सन्देश म्यान अफ दि म्याच पनि चुनिए । वडा १७ का सुगम महर्जनले एक गोल फर्काएका थिए ।


यसअघि, काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।


पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।


आइतबार चार खेल हुनेछन् । पहिलो खेलमा वडा १४ खेल वडा २२, दोस्रो खेलमा वडा १२ ले वडा २०, तेस्रो खेलमा वडा ६ ले वडा ९ र अन्तिम खेलमा वडा ४ ले वडा १८ को सामना गर्नेछ । पहिलो खेल बिहान ८ बजे सुरु हुनेछ ।


Swadesh Maharjan | November 8th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya