Share on:

नेपाल कबड्डी लिगसँग सहकार्य गर्दै नेपहपको श्रीपेच
April 3rd, 2026

काठमाडौं । अब नेपाल कबड्डी लिग (एनकेएल) मा स्वदेशी तथा बिदेशी खेलाडीको रोमान्चक प्रतिस्पर्धासँगै र्यापरहरूको सिर्जना पनि देख्न–सुन्न पाइने भएको छ, जसको लागि एनकेएलको ‘रियालिटी शो पार्टनर’ बनेको छ नेपहपको श्रीपेच ।


जेन्जी पुस्तामा निक्कै लोकप्रिय रियालिटी शो नेपहपको श्रीपेचसँग एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले शुक्रबार साझेदारी गर्ने घोषणा गरेको हो । रोयल सिंगी होटलमा आयोजित कार्यक्रममा एस्ट्रोनिक्सका सीईओ विकास अग्रवाल र नेपहपको श्रीपेचका संस्थापक सुदीप पोखरेलले साझेदारी पत्रमा हस्ताक्षर गरे । एनकेएल सिजन २ र नेपलहपको श्रीपेच सिजन ३ को लागि सहकार्यको सम्झौता भएको हो ।


सीईओ अग्रवालले भने, “एनकेएल र नेपहपको सहकार्यले नेपालमा एउटा नयाँ युगको सुरुआत गर्दै स्पोट्र्स र इन्टरटेन्मेन्टलाई हेर्ने तरिका नै परिवर्तन गर्दैछ । हामी एउटा मुभमेन्ट निर्माण गरिरहेका छौं । जहाँ कबड्डीको शक्ति र हिपहपको आवाज मिलेर नयाँ कथा लेख्नेछ । अब कबड्डी केवल खेल होइन, यो युवाको आवाज हो, संस्कृतिको ऊर्जा हो र यो देशको नयाँ पहिचान बन्नेछ ।”


नेपहपका संस्थापक पोखरेलले भने, “रियालिटी शो र स्पोट्र्स लिगवीच पहिलोपल्ट सहकार्यको सम्झौता भएको छ । हामी धेरै खुशी छौं कि हाम्रा ¥यापरहरूले एनकेएलमा एस्पोजर पाउने भएको छ भने एउटा उदाउँदो खेलको रुपमा अगाडि बढेको कबड्डीसँगै हिपहप म्युजिकको सहयात्राको थालनी भएको छ ।”


एनकेएल सिजन २ आगामी जेठ २२ गतेदेखि (जुन ५ तारिख) देखि दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा सुरु हुँदैछ, जसमा ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सम्झौता अनुसार नेपहपको श्रीपेचका ¥यापरले प्रतिस्पर्धाको आधारमा एनकेएलका ६ टिमका लागि फरक एन्थम सिर्जना गर्नेछन् । प्रत्येक विजेताले जनही ५० हजार रुपिया पाउने छन् । नेपहपको श्रीपेचले शीर्ष ३० को छनोटपछि दुई एपिसोड एनकेएल थिममा तयार गर्नेछ ।

कार्यक्रममा नेपहपको श्रीपेचका निर्णायकद्वय भियोमा र मानस घले पनि उपस्थित थिए । उनीहरूले ¥याप र एनकेएलको सहकार्यले खेल र संगीत दुवैलाई फाइदा पुग्ने बताए । एनएकेएल सिजन २ को एन्थम पनि भियोमा तयार गरेका हुन् ।


एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले विश्वकै उत्कृष्ट खेलाडीहरू एनकेएल सिजन २ खेल्नका लागि नेपाल आउन लालयित रहेको बताएका छन् । १६ देशका १ सय बढी बिदेशी खेलाडीले नाम दर्ता गरेका छन् । प्लेयर्स ड्राफ्टबाट टिमहरूले खेलाडी छनोट गर्नेछन् । एनकेएल सिजन २ को ब्रोडकास्ट पार्टनर कान्तिपुर म्याक्स टीभी एचडी रहेको छ ।


सिजन २ मा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्दै छन् ।


Swadesh Maharjan | April 3rd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya