Share on:

एनकेएल ड्राफ्टमा विभागीय खेलाडीको वर्चस्व
February 14th, 2026

काठमाडौं । २०८२ साल फागुन २ गते शनिबार


नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको ‘ड्राफ्ट’ को लागि छनोट भएका १ सय ४७ नेपाली खेलाडीमा विभागीय टिमले वर्चस्व कायम गरेको छ, जसमा नेपाली सेना (त्रिभुवन आर्मी क्लब), नेपाल प्रहरी (पुलिस क्लब) र सशस्त्र प्रहरी बल (एपीएफ क्लब) का ३५ खेलाडी परेका छन् ।


आउने चैत्र महिनामा हुने ड्राफ्टका लागि आर्मी र एपीएफका १२–१२ जना तथा पुलिसबाट ११ खेलाडी छनोट भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ । त्यस्तै, मधेश प्रदेशका २३, लुम्बिनीका २०, बागमतीका १५, सुदूरपश्चिमका १५, कोशीका १४, कर्णालीका १३ र गण्डकीका १२ खेलाडीले ड्राफ्टमा स्थान बनाएका छन् । उनीहरूलाई तीन समूहमा वर्गीकरण गरी ड्राफ्टमा राखिनेछ ।


दोस्रो सिजनको लागि स्वदेशी ५ सय १२ खेलाडीले नाम दर्ता गरेका थिए । त्यसबाट १ सय ८० खेलाडीले ‘प्लेयर ट्रायल्स’ ले प्रतिस्पर्धा गरेका थिए । ड्राफ्टको लागि प्लेयर ट्रायल्सबाट १ सय ६ जना खेलाडी छनोट भएका हुन् भने बाँकी ४१ खेलाडी गत माघमा सम्पन्न २५ औं राष्ट्रिय कबड्डी प्रतियोगिताबाट छनोट गरिएको हो । फ्रेन्चाइजको आधारमा बनाइएका ६ सहरका ६ टिमले ड्राफ्टमार्फत् एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् ।


स्वदेशी खेलाडीसँगै ड्राफ्टमा बिदेशी खेलाडी पनि हुनेछन् । एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले भने, ‘यसपाली दर्जन बढी देशका उत्कृष्ट खेलाडीले नेपाल आएर एनकेएल खेल्न चाहेका छन् । दर्ता गर्ने क्रम जारी नै छ । त्यसैले ड्राफ्टमा समावेश गरिने बिदेशी खेलाडीको संख्या चाँडै सार्वजनिक गर्नेछौं ।’


बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघसँग सम्झौता गरेपछि गत वर्ष एनकेएलको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको थियो । संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा ल्याइएको एनकेएलले नेपालमा व्यावसायिक कबड्डीको सुरुआत गरेको हो । अहिले दोस्रो सिजनको तयारी तीब्र गतिमा भइरहेको छ । म्यारियट होटेलमा सोमबार एक कार्यक्रम आयोजना गर्दै एनकेएल सिजन २ घोषणा गर्दैछ ।


एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि सुरु गरेको छ । पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंमाथि ४३–४१ को जित रच्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो ।


Swadesh Maharjan | February 14th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya