Share on:

एनकेएल प्लेयर ट्रायल्स आइतबारदेखि हुने
January 9th, 2026

काठमाडौं । २०८२ साल पौष २५ गते शुक्रबार

केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी छनोटको रुपमा ‘प्लेयर ट्रायल्स’ आइतबारदेखि दशरथ रंगशालास्थित कभर्ड हलमा हुने भएको छ, जसमा उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरूले एनेकएल ड्राफ्टमा स्थान बनाउन सक्नेछन् ।


एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टको प्राविधिक टोलीले दोस्रो सिजनको लागि दर्ता भएका ५ सय १२ जना खेलाडीबाट छनोट गरेका १ सय ८० जना खेलाडी दुई दिने प्लेयर ट्रायल्समा सहभागि हुनेछन् । प्लेयर ट्रायल्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एनकेएल ड्राफ्टमा छनोट गरिनेछ । र, ड्राफ्टमार्फत् ६ टिमले एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् ।


एनकेएलले नेपाल कबड्डी संघ (एन्का) को सहकार्यमा तयार पारेको प्राविधिक टोलीले प्लेयर ट्रायल्सबाट ड्राफ्टका लागि खेलाडी छनोट एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताएका छन् । उनी भन्छन्, ‘प्लेयर ट्रायल्सबाट छनोट हुने उत्कृष्ट खेलाडीले ड्राफ्टमा अवसर पाउनेछन् । र, ड्राफ्टमा उपलब्ध खेलाडीहरू लिएर टिम तयार हुनेछन् । त्यसैले दोस्रो सिजनमा खेलाडीसँगै टिमको प्रदर्शन उत्कृष्ट र व्यावसायिक हुने अपेक्षा गरेका छौं ।’


बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो । अहिले दोस्रो सिजनको तयारीलाई तीब्रता दिइएको छ । एनकेएल सिजन २ को तयारीमा एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि आयोजना गर्दैछ ।


फ्रेन्चाइज टिमको आधारमा पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए । 


राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए । एनकेएल सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।


Swadesh Maharjan | January 9th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya